खाद्य प्रविधि धनगढीद्धारा कैफियत देखिएका २० वटा व्यापारिक फर्मविरुद्ध मुद्दा दायर

204 

धनगढी, साउन ७ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीले २० वटा व्यापारिक फर्मविरुद्ध मुद्दा दायर गरेको जनाएको छ । कार्यालयले आईतबार गरेको चौथो त्रैमासिक तथा बार्षिक प्रगति समिक्षा गोष्ठीमा उक्त बिषयका बारेमा जानकारी गराइएको हो ।

कैफियत देखिएका खाद्यपदार्थका नमूनाको अनुसन्धान प्रक्रिया पूरा गरी खाद्य ऐन तथा दाना ऐन बमोजिम कारबाही गर्न जिल्ला प्रशासन कार्यालय कैलालीमा नौ, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सात, जिल्ला अदालत कैलालीमा तीन र जिल्ला अदालत कञ्चनपुरमा एक गरी २० वटा व्यापारिक फर्ममाथि मुद्दा दायर गरेको जनाएको छ ।

यसबाहेक थप १९ उद्योगी व्यवसायीसँग बयान लिने काम भइरहेको कार्यालयले जनाएको छ । खाद्यपदार्थको स्वच्छता र गुणस्तर नियमन गर्नका लागि कार्यालयले गत आर्थिक वर्ष २ सय २५ पटक खाद्यबजार तथा १ सय ५२ रेस्टुरेण्ट अनुगमन गरिएको छ । अनुगमनका क्रममा कैफियत देखिएका १ सय ३७ वटा फर्मबाट प्रतिकुल पाइएका रु १५ लाख ८७ हजार ८ सय ९ मूल्यको खाद्य पदार्थ र ९ हजार १ सय २८ लिटर बराबरका सामान जफत गरी नष्ट गरिएको खाद्य अनुसन्धान अधिकृत हरिसिंह बोहराले बताउनुभयो ।

समीक्षा गोष्ठीमा उहाँले गत वर्ष कार्यालयले गरेको गतिविधिले खाद्यवस्तुको स्वच्छता एवं गुणस्तर कायम गर्न टेवा पुगेको बताउँनुभयो । खाद्य अनुसन्धान अधिकृत बोहराले गत वर्ष ३ सय ४९ वटा खाद्य तथा दाना उद्योगको दर्ता सिफारिस, अनुज्ञा पत्र जारी तथा नवीकरण गरिएको जानकारीसमेत दिनुभयो । कार्यालयले खाद्य स्वच्छता एवं गुणस्तर कायम गर्न खाद्य ऐन तथा दाना ऐनअनुरूप उद्योग, बजार तथा होटेल रेस्टुरेण्ट अनुगमन गर्ने क्रममा शंकास्पद नमूना संकलन गरी कारबाही प्रक्रियाअघि बढाउँदै आएको छ । 

खाद्य अनुसन्धान अधिकृत हरिसिंह बोहराले अनुगमन निरीक्षणका लागि साधनस्रोत अभाव तथा प्रयोगशाला व्यवस्थापनका लागि स्थान अभावले उपलब्ध उपकरण प्रयोगमा ल्याउन नसकिएकाले थप कार्य गर्न कठिनाइ भएको बताउनुभयो ।  सुदूरपश्चिम प्रदेश कार्यक्षेत्र रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलाली मातहतमा डडेल्धुरा, डोटी र बैतडीमा डिभिजन कार्यालय सञ्चालनमा छन् । कार्यक्रममा कार्यालय प्रमुख हरेराम प्रधान तथा बिभिन्न जिल्लाका डिभिजन कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस