कैलालीका किसान तोरी खेतीतर्फ आकर्षित

564 

धनगढी, पुस १४। कैलालीका किसान तोरी खेतीतिर आकर्षित भएका छन्। गहुँ, मसुरो जस्ता हिउँदे बालीलाई छाडा चौपायाले बढी नोक्सान गर्ने गरेका कारण किसान तोरी खेतीतर्फ आकर्षित भएका हुन्। उनीहरुका अनुसार छाडा चौपायाले गहुँभन्दा तोरीलाई कम नोक्सान गर्ने गर्दछन्।

छाडा चौपायाबाट आजित भएपछि किसानको ध्यान तोरी खेतीतिर गएको कैलारी गाउँपालिका–३ लालपुरका कृषक गुरीलाल चौधरीले बताउनुभयो । उहाँले किसानले गहुँ, मसुरो खेती घटाएर तोरी खेती बढाएको उल्लेख गर्नुभयो।

कैलालीमा छाडा पशुचौपायाको समस्या विकराल छ। चौपायाले गहुँ, मसुरो जस्ता हिउँदे बाली अत्यधिक नोक्सान गर्ने गरेकाले किसानको ध्यान तोरी खेतीमा गएको छ । तोरी खेती र थोरथोरै रहेको गहुँ जोगाउनका लागि उनीहरु रातभरि खेतमा गस्ती गर्नुका साथै जाग्राम बस्ने गरेका छन् । चौपाया धपाउनका लागि उनीहरु झुप्रो बनाएर खेतमै बस्ने गरेका छन्।

कैलारी गाउँपालिकामा यसवर्ष अत्यधिक खेतमा किसानले तोरी खेती गरेको कृषि शाखा प्रमुख मैँया चौधरीले बताउनुभयो । “वडा नम्बर ४ त तोरी ब्लक जस्तै देखिन्छ”, उहाँले भन्नुभयो, “तर पालिकाको अनुदान छैन । किसान आफैंले तोरी खेती बढाएका हुन ।” छाडा चौपायाबाट पीडित किसानले तोरी खेती बढी गर्न थालेको उहाँको भनाइ छ । गहुँ छोडेर किसान तोरी खेतीमा आकर्षित भएपछि कैलारीको विभिन्न गाउँका खेत अहिले पहेँलपुर बनेको छ । खेतैभरि तोरी फुलेको दृश्य लोभलाग्दो देखिने गरेको छ ।गोरखापत्रबाट 

प्रतिक्रिया दिनुहोस