189 |
साउन २० धनगढी । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुने भएको छ । अल्पमतमा परेका मुख्यमन्त्री दीर्घ सोडारीले शुक्रवार राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन् ।
केन्द्रमा कांग्रेस एमालेको समीकरणमा सुदूरपश्चिमको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति अनुसार एमालेको समर्थनमा काँग्रेसले आज मुख्यमन्त्रीमा दाबी पेस गर्ने बताइएको छ । कांग्रेसको शिर्ष तहमा भएको समझदारीअनुसार नेपाली कांग्रेसका कमलबहादुर शाहले मुख्यमन्त्री दाबी पेश गर्ने तयारी भएको छ ।
सुदूरपश्चिमको मुख्यमन्त्रीको दौडमा प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा, बहादुरसिंह थापा र दिवानसिंह विष्ट रहेकोमा उनीहरुलाई रोक्दै पूर्वमुख्यमन्त्री समेत रहेका शाह मुख्यमन्त्रीमा दोहोरिने भएका हुन् । स्रोतका अनुसार पार्टी सभापति शेर बहादुर देउवाले पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका भतिजा प्रकाश देउवालाई मुख्यमन्त्री बनाउन खोजेका थिए तर पत्नि आरजु देउवालाई परराष्ट्र मन्त्री बनाएका बेला भतिजालाई मुख्यमन्त्री बनाउदा राम्रो सन्देश नजाने र परिवारवादको आरोप खेप्ने डरले शाहलाई नै दोहो¥याउन निर्देशन दिएका हुन् ।
स्रोतका अनुसार यसअघि मुख्यमन्त्री भइसकेका शाहले लामो समय काम गर्न नपाएको भन्दै अहिले उनकै नेतृत्वमा सरकार गठन गर्ने समझदारी बनेको बताइएको छ । सुदूरपश्चिममा दोस्रो पटक मुख्यमन्त्री बन्ने इतिहास समेत शाहले बनाउने भएका छन् । यो सँगै कांग्रेसका शाह दोस्रोपटक सुदूरपश्चिमको पाचौँ मुख्यमन्त्री बन्ने भएका छन् ।
राजनीतिक समीकरण फेरिएपछि गत २२ चैतमा पदबाट राजीनामा दिएका शाहले १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए । शाहलाई मुख्यमन्त्री बनाउने निर्णय आइतबार बिहान ११ बजे बस्ने प्रदेश संसदीय दलको बैठकले गर्नेछ । सो बैठकमा प्रकाशबहादुर देउवाले नै मुख्यमन्त्रीमा शाहको नाम प्रस्ताव गर्ने बताइएको छ । आज पाँच बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्ने र आजै मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरिएको छ ।
उक्त बैठकले मन्त्रीहरूको नाम पनि टुङ्गो लगाउने छ । कांग्रेसबाट नयाँ अनुहार मन्त्रीमा समावेश हुने सम्भावना रहेको छ । यता एमालेले पनि सरकारमा कसलाई पठाउने भन्ने कुनै निर्णय गरेको छैन । आज साँझ सम्म यी दुई दल बाहेक नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने जनाइएको छ । नागरिक उन्मुक्ति पार्टीले पनि आफ्नो भागमा पर्ने मन्त्रीको नाम टुङ्गो लगाइसकेको छ । सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । यी दुई दल मात्रै मिल्दा पनि बहुमत पुग्छ ।