147 |
साउन २२ बैतडी । बैतडीका एक युवकको रोजगारीको सिलसिलामा भारतमा रहेका बेला मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका–४ नोडालेक घर भएका अन्दाजी २०/२१ बर्षीय सोनु महराको मृत्यु भएको स्थानीय प्रिन्स महराले जानकारी दिए ।
भारतको पानीपथमा काम गर्दै आएका महराको आइतबार राति मृत्यु भएको र सोमबार घरपरिवारलाई खबर आएको उनले बताए । महराको दुर्घटनामा परी मृत्यु भएको भनिएपनि शवको प्रकृति हेर्दा त्यस्तो नदेखिएको महराले बताए । उनको शव रेलको लिकमा फेला परेको थियो । मृतक महराका बुवा रोजगारीको सिलसिलामा पहिला नै भारतबाट बेपत्ता भएका थिए ।
घरमा एक्ली आमा र मानसिक समस्या भएका दाजुमात्रै रहेकाले मृतकको परिवार निकै समस्या रहेको स्थानीय केशव भट्टले बताए । घरपरिवार चलाउनका लागि भारत गएका छोराको उतै निधन भएपछि उनकी आमा विक्षिप्त बनेकी छन् । भारतमा समेत कोही आफन्त नभएकाले महराको मृत्युको खबरपछि गाउँका मान्छे भारत गएका बताइएको छ । घरपरिवार चलाउन समस्या भएपछि पढाई छोडेर भारत गएका सोनुको मृत्युको खबरले गाउँ शोकमा डुबेको छ ।