354 |
साउन २७ धनगढी। सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा ३ सय बढी सडक दुर्घटना भएका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार सो अवधिमा ३ सय ९ वटा सडक दुर्घटना भएका हुन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता तथा ट्राफिक प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीले आर्थिक वर्ष २०८०/८१ मा आधा दुर्घटना मोटरसाइकल मात्रै रहेको बताउनुभयो । उक्त सडक दुर्घटनामा
२०७ मोटरसाइकल, ५० वटा जिप र कार, ४० ट्याक्टर, २४ बस, १९ ट्रक, टेम्पो १७, टिपर ९, माइक्रो ७, डोजर ३ र ३० अन्य सवारी साधन दुर्घटनामा परेका छन । उक्त दुर्घटनामा परेर १३७ पुरुष, २३ महिला, ७ बालक र ५ बालिका गरी १ सय ७२ जनाले ज्यान गुमाएका छन । २६७ जना गम्भीर र २६९ जना सामान्य गरी जम्मा ५ सय ३६ जना घाइते भएका छन ।
आर्थिक वर्ष २०८०/८१ म ट्राफिक नियम उल्लङ्घन गर्ने ७३ हजार चार सय ७९ जना सवारी चालक कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट चार करोड ८९ लाख ८७ हजार राजस्व सङ्कलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ । ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्न ६ हजार ६२६ पटक ट्राफिक सचेतना कार्यक्रम र ३ लाख ८९ हजार २६६ व्यक्तिलाई ट्राफिक प्रहरीले सचेत गराउने काम समेत गरेको ट्राफिक प्रहरी प्रवक्ता डिएसपी उप्रेतीले बताउनुभयो। गत आर्थिक वर्षमा भएका सडक दुर्घटनामा सबभन्दा बढी भदौ र कात्तिकमा ७४ वटा सवारी दुर्घटना भएका छन।
यस्तै बैशाखमा ३६, पुसमा ३०, जेठमा २५, असार र फागुनमा समान २४, माघमा २२, असोजमा १९ वटा सडक दुर्घटना भएका छन। चैतमा १७ तथा मंसिर र साउनमा समान १४ वटा दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ। आर्थिक वर्ष २०७९/८० मा २ सय ५५ सवारी दुर्घटनामा १७७ जनाको मृत्यु, सामान्य तथा गम्भीर गरी ४७३ जना घाइते भएका थिए । ट्राफिक नियम उल्लङ्घन गर्ने १ लाख १२ हजार ६५५ सवारी कारबाहीमा परेकोमा सोबाट ६ करोड ४३ लाख ७२ हजार राजस्व सङ्कलन गरिएको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ।