सुदूरपश्चिम प्रदेश सभाबाट कर सङ्कलन सम्बन्धी अध्यादेश स्वीकृत

432 

साउन ३० धनगढी। सुदूरपश्चिमको कर सङ्कलन सम्बन्धी अध्यादेश प्रदेश सभाबाट स्वीकृत भएको छ।

मङ्गलवार बसेको प्रदेश सभाको बैठकले सुदूरपश्चिम प्रदेश समसामयिक कर सङ्कलन सम्बन्धी अध्यादेश, २०८१ सर्वसम्मतले विधेयक स्वीकृत गरेको हो। आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले सुदूरपश्चिम प्रदेश सामयिक कर सङ्कलन सम्बन्धी अध्यादेश २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रदेश सभामा पेस गरेका थिए।

चालु आर्थिक वर्षमा प्रदेशमा राजस्व सङ्कलन गर्न अधिकार प्रदान गर्ने कानुन निष्प्रभावी भएको अवस्थामा कानुन बमोजिम नियमित राजस्व सङ्कलन गरी सेवा सुचारु गर्नका लागि संविधानको धारा २०२ को उपधारा (१) बमोजिम प्रदेश मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले अध्यादेश जारी गरेका हुन्।

यस्तै,‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीको प्रस्तावमा सर्वसम्मतले सो विधेयकलाई समितिमा पठाइएको छ।यस्तै, विधायन तथा प्रदेश मामिलाका सभापति दिवानसिंह विष्टले प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिमा दफावार छलफल भई तयार भएको प्रतिवेदन सभा समक्ष प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस