कैलालीमा औलो र डेङ्गुका बिरामी बढ्दै, एकै बर्षमा औलोका १४० र डेङ्गुका १ हजार ८३ बिरामी फेला

318 

साउन ३१ धनगढी। स्वास्थ्य कार्यालय कैलालीको तथ्यांक अनुसार कैलालीमा औलो रोगका बिरामीको संख्या १ सय ४० पुगेको छ।  गत आर्थिक वर्ष २०८०/८१ मा कैलालीमा सो संख्याका औलो रोगका बिरामी पुगेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । 

अन्य स्थानीय तहभन्दा गौरीगंगा नगरपालिकामा सबैभन्दा बढी ३८ जना औलो रोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य निरीक्षक विमला ज्ञवालीले जानकारी दिइन्। गोदावरी नगरपालिकामा २४, लम्कीचुहा नगरपालिकामा ८, टिकापुर नगरपालिकामा २३, घोडाघोडी नगरपालिकामा १० र धनगढी उपमहानगरपालिकामा २२ जना औलोका बिरामी फेला परेको उनले बताइन ।

त्यस्तै, भजनी नगरपालिकामा ३, मोहन्याल गाउँपालिकामा ३, चुरे गाउँपालिकामा १, बर्दगोरिया गाउँपालिकामा ४, जानकी गाउँपालिकामा २ र जोशीपुर गाउँपालिकामा १ जना रहेको उनले बताइन । जिल्लामा डेङ्गुका बिरामी संख्या १ हजार ८३ रहेका छन । गोदावरी नगरपालिकामा १ सय ५१, लम्कीचुहा नगरपालिकामा ३ सय ११ र टीकापुर नगरपालिकामा २ सय २७ जना बिरामी फेला परेको उनको भनाइ छ ।

बर्दगोरिया गाउँपालिकामा ८७, घोडाघोडी नगरपालिकामा ७०, धनगढी उपमहानगरपलिकामा १ सय ८३, भजनी नगरपालिकामा १२, जानकी गाउँपालिकामा ३०, मोहन्याल गाउँपालिकामा ६ र चुरे गाउँपालिका १ जना डेङ्गुका बिरामी फेला परेको उनले बताइन् । चालु आर्थिक वर्षको साउन महिनाको अन्तसम्म ४० जना डेङ्गुका बिरामी फेला परेका छन।

विभिन्न निजी अस्पताल र सरकारी अस्पतालमा सो संख्याका बिरामी पत्ता लागेको उनले बताइन् । रोग लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्ने, पानी जम्न नदिने, झुलको प्रयोग गर्ने, लामखुट्टेको वृद्धि विकास रोक्ने, घरको वरपर सरसफाइ गर्ने र रोग लागिहालेमा उपचार गरेमा रोग निको स्वास्थ्यकर्मीको सुझाब छ। 

प्रतिक्रिया दिनुहोस