जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि दुई जनाको उम्मेदवारी

414 

धनगढी,मंसिर २ गते। जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि दुई जनाको उम्मेदवारी परेको छ। नेपाली कांग्रेसबाट टीका चौधरी भुल र नागरिक उन्मुक्ति पार्टीबाट रुक्मती चौधरीको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ।

कांग्रेसकी भुलले सत्तारुढ दल नेकपा(एमाले) को समर्थनमा जिसस प्रमुखको लागि उम्मेदवारी दिनुभएको छ। उहाँको प्रस्तावकमा नेपाली कांग्रेसका नेता एवम् कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी र समर्थकमा नेकपा(एमाले) का नेतृ एवम् धनगढी उपमहानगरपालिकाका नगर उपप्रमुख कन्दकला राना रहनु भएको छ। 

नागरिक उन्मुक्ति पार्टी भने एक्लै चुनावी मैदानमा उत्रेको छ। नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिनु भएकी चौधरीको प्रस्तावकमा सोही पार्टीका नेतृ एवम् जोशीपुर गाउँपालिकाका उपाध्यक्ष रेखादेवी कठरिया रहनु भएको छ। यसैगरी, समर्थकमा भजनी नगरपालिकाका उपप्रमुख राजुदेवी तिरुवा रहनु भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ। तत्कालीन जिल्ला समन्वय समिति प्रमुख पदम कलेलको निधन भएपछि कैलालीमा सो पद्का लागि उपनिर्वाचन हुन लागेको हो । आगामी मङ्सिर १६ गते उपनिर्वाचन तय भएको छ।

प्रतिक्रिया दिनुहोस