783 |
धनगढी,पुस १०। कैलालीको टिकापुरबाट सुन र चाँदीका गरगहनासहित दुईजना पक्राउ परेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी धनगढी कैलाली,इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले आज बुधबार दिउँसो १२ः३० बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बाजुराको बुढिगंगा नगरपालिका–१० का २५ वर्षीय सुजन शाही र कैलालीको लम्की–चुहा नगरपालिका–४ की ३४ वर्षीया रम्भा जैशी रहेका छन्। उनीहरू टिकापुर नगरपालिका–१ गणेशपुर शिविरस्थित धर्मा जैसीको घरभित्र शंकास्पद रूपमा बसिरहेको अवस्थामा फेला परेका थिए।
उनीहरूको साथबाट चाँदीको सिक्का (५० ग्राम)-१ थान, हिरा जस्तो देखिने पत्थरयुक्त औंठी-२ थान, सुन जस्तो देखिने बेरुवा औंठी-१ थान,सुन जस्तो देखिने सिक्री – १ थान, पानको पात आकारको सुन जस्तो देखिने सिक्री-१ थान, हिरा जस्तो देखिने झुम्का-१ जोर, सुन जस्तो देखिने औंठी-१ थान,खुट्टामा लगाउने सुन जस्तो देखिने बिछिया-२ थान, नागिनी माला-१ थान, कानमा लगाउने सुन जस्तो देखिने रिङ- १ जोर र सुन जस्तो देखिने गहना र नगद १३,००० रुपैयाँ बरामद गरिएको छ। त्यसैगरी, घटनास्थलबाट लु.प्र. ०१–००३ प २२९९ नम्बरको यामाहा मोटरसाइकलसमेत बरामद गरिएको छ। पक्राउ परेका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय टिकापुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।