कैलालीको धनगढी र कैलारीका विभिन्न स्थानबाट लागूऔषध सहित ९ जना पक्राउ

201 

कैलाली,पुस २७। कैलालीमा लागू औषध सहित ९ जना पक्राउ परेका छन्।कैलालीको धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालीकाका विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ परेका हुन्।

शुक्रबार धनगढी उपमहानगरपालिका–३ ब्यरेल नजिकबाट मिलन चोक बस्ने २४ वर्षीय सरोज चौधरीलाई ५ ग्राम २९० मिलिग्राम लागू औषध (खैरो हेरोइन) जस्तो देखिने धुलो पदार्थसहित प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको टोलीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

यसैगरी कैलारी गाउँपालिका–७ कटानी पुल नजिक वडा नम्बर २ बस्ने २० वर्षीय अविनाश चौधरीले चलाएको से ७ प २४०८ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा, उनीसँगै सवार २० वर्षीय दिनेश चौधरीको साथबाट ४१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय रामपुर, कैलालीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

यस्तै,धनगढी उपमहानगरपालिका–८ बुद्धचोकबाट सोही ठाउँ बस्ने २४ वर्षीय सुमित घिमिरेलाई १ ग्राम ७५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार नजिकबाट वडा नम्बर १३ बस्ने ३८ वर्षीय दिपक भट्टलाई (ओनरेक्स) नामक १५ बोतल लागू औषधसहित पक्राउ गरिएको छ। उनलाई वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

यसैगरी शनिबार बिहान गोप्य सूचनाको आधारमा लागू औषध सेवन गरिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका–७ देवरियाबाट २३ वर्षीय दिप लाल राना लगायत ४ जनालाई ११० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। लागूऔषधसहित पक्राउ परेका ९ जना माथी थप अनुसन्धान जारी भैहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस