384 |
बैतडी,पुस ११। बर्थिङ सेन्टरमा खोप लगाएका दुई महिने बालकको मृत्यु भएपछि घटनाको छानबिन र क्षतिपूर्तिको माग राख्दै अभिभावक आन्दोलित भएका छन् ।
डिलासैनी गाउँपालिका– २ छेपट्टा गाउँका मुकेश रानाका दुई महिने छोरा आदर्श रानाको मृत्यु भएपछि अभिभावकसहित स्थानीय आन्दोलित भएका हुन्।बालकलाई बुधबार दिउँसो डिलासैनी गाउँपालिका –३ मा रहेको सिमार बर्थिङ सेन्टरमा पोलियो रोगविद्धको ओपिभी, झाडापखाला विरुद्धको रेटा, निमोनियाविरुद्धको पिसिभी र भ्यागुते रोगविरुद्धको पेन्टा औषधी खोपमार्फत र मुखबाट खुवाइएको थियो।
दिउँसो १२ बजे खोप लगाएर ३ बजे घर फर्किदा बालकलाई ज्वरो आएको थियो । राति र्याल र फिँज निकाल्न थालेपछि गोकुलेश्वर अस्पताल लैजादै त्यहाँ उपचार हुन नसकेपछि त्यहा उपचार नभएपछि डडेल्धुरा अस्पताल लैजाने क्रममा बालकको बुधबार राति बाटोमै मृत्यु भएको थियो। बर्थिङ सेन्टरमा बालकलाई पोलियो रोगविरुद्धको ओपिभी, पिसिभीको पहिलो डोज र डिपिटी दोस्रो डोज खोप लगाइएको थियो।
त्यसैगरी ओपिभी र रोटा डोज खुवाइएको थियो। घटनापछि निष्पक्ष छानबीन र क्षतिपूर्तिको माग राखी अभिभावक र स्थानीयले दार्चुला–बैतडी–गोकुलेश्वर सडक अवरुद्ध गरेका छन्। बर्थिङ सेन्टरमा दुई जना बालकलाई सोही प्रकृतिको खोप लगाएकाले अर्का बालकलाई केही नभएकाले खोपकै कारण मृत्यु भएको भन्न नसकिने स्वास्थ्य कार्यालय बैतडीका निमित्त कार्यालय प्रमुख तिर्थराज भट्टले बताए।
उनले भने, “खोप लगाएका बालकको मृत्यु भएको विषयमा क्षेत्री स्वास्थ्य निर्देशनालयलाई खबर गरी अनुसन्धान टोली पठाइदिन माग गरेका छौं । पोस्टमार्टम र विज्ञ टोलीले अनुसन्धान गरेपछि मात्रै मृत्युको कारण खुल्न सक्छ।” घटनापछि गाउँपालिकाका जनप्रतिनिधि,स्थानीय वडाध्यक्ष, स्वास्थ्यकर्मी र सुक्षाकर्मीको टिमले स्थानीयहरूसँग छलफल गरिरहेको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख तिर्थराज भट्टले जानकारी दिए। बालकको मृत्युपछि अभिभावक र स्थानीयले सडक अवरुद्ध गरेपछि स्थानीय जनप्रतिनिधि र अभिभावकबिच छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सचना अधिकारी पवनकुमार शाहीले बताए। सुरक्षाका लागि प्रहरी टोली खटिएको उनले बताए।