कञ्चनपुरमा प्रचण्डले भने:-माओवादी पहिलो पार्टी बने भ्रष्टाचारीहरुलाई देशबाट लखेट्छौं

345 

कञ्चनपुर पुस १३। नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी भएमात्रै देशबाट भ्रष्टाचारको अन्त्य हुने दाबी गरेका छन् ।

कञ्चनपुरको पुनर्वासमा माओवादीले आयोजना गरेको खबरदारी तथा पार्टी एकता समायोजनसभालाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचारीहरुले आफू नेतत्वको सरकार ढालेको दाबी गरे ।उनले भने, ‘म तपाईंहरुलाई भन्न चाहन्छु, गिरीबन्धुको फाइल खुल्नेछ । त्यसलाई लुकाउन दिइनेछैन ।

ओम्नीमा भएको भ्रष्टाचार छोडिनेछैन । वाइडबडीको भ्रष्टाचार छोडिनेछैन । यो सबैको निम्ति माओवादीलाई पहिलो बनाउनुपर्छ । हेर्नुहोला, अर्को पटक माओवादी बलियो भयो भने सुशासनको नयाँ युग सुरु हुनेछ । भ्रष्टाचारीलाई लखेट्ने प्रक्रिया सुरु हुनेछ । यो विश्वास तपाईंहरुलाई दिलाउँछु ।’ प्रचण्डले केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारको पक्षमा धेरै काम गरेको जिकिर गरे ।

प्रचण्डले सरकार भ्रष्टाचारी जोगाउन उद्यत रहेको आरोप लगाए। ‘यो सरकार सुशासनको पक्षमा छैन, आफ्ना भ्रष्टाचारी मान्छे जोगाउन उद्यत छ,’ प्रचण्डले भने, ‘बिचौैलियाको पक्षमा मात्रै काम गरिरहेको छ, जनता सरकारप्रति निराश छन्।’माओवादी नेतृत्वको सरकारले सुशासन र भ्रष्टाचारविरुद्ध गतिविधि अघि बढाएपछि अत्तालिएकाहरुले सरकार ढलाएका प्रचण्डले दोहोर्याए।

उनले भने, ‘मेरो नेतृत्वको सरकारले राष्ट्रिय रुपमा भ्रष्टाचारविरुद्ध अभियान संचालन गरेको थियो। दलका ठुला नेता एवं ठुला कर्मचारी परेपछि सरकार ढालियो।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफूले चीन र भारत भ्रमण गर्दा नेपालको हितका क्षेत्रमा काम गरेको बताउँदै भारत र चीनसंग गरेको विद्युत व्यापार सम्झौता ऐतिहासिक भएको उल्लेख गरे। आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कञ्चनपुरसहित दार्चुलाको लिपुलेकसम्मको सीमा समस्याबारे स्पष्ट कुरा राखेको जिकिर समेत उनले गरे।

प्रतिक्रिया दिनुहोस