396 |
कैलाली, पुस १९। प्रदेश स्तरीय नृत्य तथा गायन विधाको प्रतियोगिता एसईई आइडलको चौथो संस्करणको नवौं र दशैं अडिसन आज कैलालीको पहाडी पालिका चुरेमा सम्पन्न भएका छन्।
नवौं अडिसन चुरे गा.पा.को खानीडाँडा स्थित शुक्र माध्यमिक विद्यालय सम्पन्न भएको छ । उक्त अडिसनमा गायन तर्फ ४ र नृत्य तर्फ ३ जना विद्यार्थीहरुले भाग लिएका थिए । नवौं अडिसनमा शुक्र मा.वि.,खानीडाँडा र लक्ष्मी मा.वि., बुढीतोलाका विद्यार्थीहरुको सहभागिता रहेको थियो।
कार्यक्रमका बारेमा बोल्दै विद्यालयका प्र.अ. खडक ऐरले यस्ता खाले प्रतियोगिता विद्यार्थी र विद्यालयका लागि आवश्यक भएको कुरामा जोड दिँदै यस्ता प्रतियोगिता नियमित रुपमा आवश्यक भएको बताए । नवौं अडिसन कार्यक्रमको संचालन विद्यालयका शिक्षक पुण्डरी प्रसाद शर्माले आयोजना गरेका थिए । यसैगरि भैरब मा.वि. मा सम्पन्न दशैं अडिसनमा गायनमा ९ र नृत्यमा ६ जनाको सहभागिता रहेको थियो । दशौं अडिसनमा भैरव मा.वि. र मोहन्याल मा.वि. का विद्यार्थीहरुको सहभागिता रहेको थियो।
अडिसन कार्यक्रममा बोल्दै भैरव मा.वि. का प्र.अ. केशवराज ओझाले आजको प्रतिस्पर्धात्मक समयमा विद्यार्थीहरुले पढाईका साथै अन्य कुरामा पनि अब्बल हुनुपर्ने कुरामा जोड दिए।नवौं अडिसन कार्यक्रमको संचालन विद्यालयका शिक्षक रमेश छेडालले आयोजना गरेका थिए।
गत तीन संस्करणको भव्य सफलतापछि सुरुभएको एसईई आइडलको चौथो संस्करणको सुपका ९ जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरुमा आयोजना गरिनेछन् । यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन् । यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले प्रतिस्पर्धात्मक प्रदर्शन गर्न पाउनेछन् ।
यस सालको साउन देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुँदैछन्, जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०–३० जना प्रतिस्पर्धिहरुले २०८२ बैशाखमा हुने सेमिफाइनलमा प्रवेश पाउनेछन् भने सेमिफाइनलमा उत्कृष्ट हुने नृत्य र गायन विधाका १५–१५ जना प्रतिस्पर्धीहरुले २०८२ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् ।
फाईनलबाट दुवै विधामा १–१ जना विजेता र १–१ जना उपविजेता छनोट गरिनेछ । दुवै विधाका विजेता र उप विजेताले क्रमशः रु ७५–७५ हजार र रु. ३०–३० हजार नगद सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले पनि कक्षा ११–१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।