संघीय बजेटमा सुदूरपश्चिमः बजेटमा उपेक्षा, पुरानाबाहेक छैनन् नयाँ कुनै योजना

297 


सुदुरपश्चिम । सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।कुल विनियोजनमध्ये चालुतर्फ रु. ११ खर्ब ४० अर्ब  ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पुँजीगततर्फ रु. ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु. ३ खर्ब ६७ अर्ब  २८ करोड अर्थात् १९.७४ प्रतिशत रहेको छ।

यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६.२ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो। कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ रु. ४ खर्ब ८ अर्ब ८७ करोड विनियोजन रहेको छ। 

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट रु. १२ खर्ब ६० अर्ब ३०  करोड र वैदेशिक अनुदानबाट रु. ५२ अर्ब ३३ करोड व्यहोर्दा रु. ५ खर्ब ४७ अर्ब ६७ करोड न्यून हुनेछ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु. २ खर्ब १७ अर्ब ६७ करोड जुटाइनेछ। राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद रु. ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट व्यहोरिनेछ। 

के के छन् बजेटले समेटेका विषयहरु-सरकारले सार्वजनिक गरेको बजेटमा सुदूरपश्चिम उपेक्षामा परेको छ। केही पुराना योजनाबाहेक नयाँ योजना बजेटमा समावेश गरिएको छैन। संघीय अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा महाकाली सिँचाई आयोजना तेस्रो चरणको मुल नहर र त्रिभुवनवस्ती लगायत शाखा नहर विस्तारको कार्य अगाडी बढाइने उल्लेख छ।

ब्रह्मदेव क्षेत्रको शाखाबाट एक हजार पाँच सय हेक्टर जमिनमा सिँचाई सेवा थप विस्तार गरिने विषय बजेटमा समावेश गरिएको छ। सो आयोजनाका लागि दुई अर्ब बजेट विनियोजन गरिएको हो। रानी–जमरा–कुलरिया सिँचाई आयोजना अन्तर्गत प्रथम चरणको १४ हजार तीन सय हेक्टर शाखा नहर सञ्चालन गरी सिँचाई सुविधा उपलब्ध गराइने विषय बजेटमा उल्लेख छ।

लम्की मुल नहर अन्तर्गत शाखा नहर निर्माण गरिने छ। सो आयोजनाका लागि दुई अर्ब ८७ करोड बजेट विनियोजन गरिएको छ। त्यस्तै दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण कार्य प्रारम्भ गरिने भएको छ। धनगढीमा संघीय बजेटमा सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने विषय पनि उल्लेख गरिएको छ।

महाकाली करिडोर र सेती लोकमार्ग स्तरोन्नती गरिनेछ। प्रादेशिक राजधानीमा मौलिक सहर विकास गर्न संभाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको छ। यसका साथै दोधारा–चाँदनीमा नयाँ नमुना वस्ती निर्माण गरेर आर्थिक तथा पर्यटकीय केन्द्रको रुपमा विकास गरिने लगायतका विषय बजेटमा समावेश गरिएको छ।

बजेट वक्तव्यमा डडेल्धुरा अस्पताललाई ५ सय शय्या क्षमतामा सञ्चालन गर्ने विषय उल्लेख गरिएको छ। तर बजेट उल्लेख गरिएको छैन। खेलकुदतर्फ फाप्ला क्रीकेट मैदानको निर्माण गरिने, डोटीको सिलगढीलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने, २१० मेगावाट क्षमताको चैनपुर–सेती जलविद्युत आयोजनाको निर्माण कार्य सुरू गर्ने, कैलालीमा दोदोधारा–बरेली ४ सय केभी प्रसारण लाइन निर्माण गर्ने विषय समेटिएको छ।

बजेट वक्तव्यमा कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र निर्माण र सुदूरपश्चिमलाई धार्मिक पर्यटन आर्थिक हब बनाउने, धनगढी विमानस्थल स्तरोन्नति र बैतडीको पाटन विमानस्थललाई निजी क्षेत्रको सहकर्यमा प्याराग्लाइडिङ्ग, प्यारासुट, स्काइ डाइभिङ र अल्ट्रालाइट जस्ता मनोरञ्जनात्मक साहसिक पर्यटनको लागि उपयोग गरिने उल्लेख गरिएको छ। यसका साथै दैजी–छेला औद्योगिक क्षेत्र र दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण प्रारम्भ गरिने विषयमा बजेटमा समेटिएको छ । 

प्रतिक्रिया दिनुहोस