आजबाट रविको तर्फबाट बहस सुरु

1.31K 

पोखरा,पुस २२। पोखरा–४, कास्कीमा रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेका तर्फबाट बहस सुरु हुँदै छ। 

गएको शुक्रवार प्रतिवादीहरूको बहस सुरु भएकोमा यसअघि पूर्व प्रहरी नायब महानिरीक्षक एवम् गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी बन्जाडे र जिबी एन्ड कम्पनिजकी कर्मचारी लीला पछाइका तर्फबाट कानुन व्यवसायीले बहस गरिसकेका छन्। कास्की जिल्ला अदालतका स्रेष्तेदार राजन खनालले न्यायाधीश नीतिज राईको इजलासमा जारी थुनछेक बहसमा केही बेरमा लामिछानेको तर्फबाट कानुन व्यवसायीको बहस सुरु हुने जानकारी दिनुभयो। 

“यो मुद्दामा छविलाल जोशी र लीला पछाईको तर्फबाट बहस सकिएको छ।आजबाट रवि लामिछानेको तर्फबाट बहस सुरु हुन्छ,” स्रेष्तेदार खनालले भन्नुभयो।लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, सुशील पन्त,डा.नारायण घिमिरे,नारायणदत्त कँडेल, हरि सुवेदी, रोहितराज पराजुलीलगायतले बहस गर्ने तयारी छ। मङ्गलबार या बुधवार प्रतिवादीहरूको बहस सकिने र त्यसपछि जवाफी हुनेछ।जवाफी बहसपछि प्रतिवादीहरूलाई साधारण तारेखमा छाड्ने,धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एक निर्णय हुनेछ। सूर्य दर्शन सहकारी ठगी प्रकरणमा रविसहित विपक्षी बनाइएका ४४ जनाविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग लगाइएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले सूर्य दर्शन सहकारी ठगी आरोपमा २०८० असोज १८ गते १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। पुस २ गते उनीहरू विरूद्ध पनि सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको थप अभियोग लगाइएको छ। पूरक र थप गरी सूर्य दर्शन सहकारी अपचलनमा ६६ जना प्रतिवादी छन्। उनीहरूसँग एक अर्ब ५१ करोड बिगो माग गरिएको छ। जिल्ला सहकारी वकिलको कार्यालयले पुस ७ गते पूरक अभियोग दर्ता गरेको थियो । 

प्रतिक्रिया दिनुहोस