459 |
साउन १४ धनगढी। सुदूरपश्चिममा सरकार हराएको भन्दै टर्च बालेर सांकेतिक विरोध गरिएको छ। सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठकमा सरकार पक्ष सहभागी नभएपछि प्रतिपक्षी दलले सांकेतिक विरोध जनाएका हुन् ।
मन्त्रीको अनुपस्थितिमा बैठक चल्न नसक्ने भन्दै सभामुख भीमबहादुर भण्डारीले अनिश्चितकाललाई बैठक स्थगित गरेपछि प्रतिपक्षी दल काँग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले प्रदेश सभा भवन अगाडि टर्च बालेर सरकारको खोजी गरेका हुन् ।
उनीहरूले मोबाइलको फ्ल्यास लाइट बालेर विरोध जनाएका छन् । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेशका नागरिक बाढी, पहिरो प्रभावित भएका बेला सरकारले प्रदेश सभाको बैठक समेत छलिरहेको भन्दै विरोध गरे। काँग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले सरकार प्रदेश सभाको बैठक छलेर हिँडेकाले उक्त विषयमा आफूहरू गम्भीर रहेको बताए।
काँग्रेस र एमालेका एक चौथाइ भन्दा बढी प्रदेश सभा सदस्यको मागअनुसार प्रदेश प्रमुखले आह्वान गरेको विशेष अधिवेशनको तेस्रो बैठक सोमबार दिउँसो २ बजे बोलाइएको थियो। बैठक सुरु भएपछि सभामुख भीमबहादुर भण्डारीले बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य बनाइएको तर मन्त्री नै अनुपस्थित रहेको बैठक अघि बढाउन नसक्ने भन्दै अनिश्चितकाललाई स्थगित गरेका थिए ।
२० असारमा एमालेले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विशेष अधिवेशनको बैठकमा सहभागी भएको भन्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई आइतबार बर्खास्त गरेका थिए । थापा विशेष अधिवेशनको पहिलो र दोस्रो बैठकमा सरकारको तर्फबाट सहभागी भएपछि प्रदेश सभाको बैठक सञ्चालन भएको थियो । तर मुख्यमन्त्रीले आफ्नो निर्देशन विपरीत बैठकमा सहभागी भएको भन्दै थापालाई बर्खास्त गरेका हुन्।
अल्पमतमा परेपछि चालु आर्थिक वर्षको बजेट पारित गर्न नसकेका मुख्यमन्त्री सोडारीले प्रदेश सभाको अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत ल्याउन खोजेका थिए। तर प्रदेश प्रमुख नजिर मियाँले उक्त निर्णय कार्यान्वयनमा ढिलाइ गर्दै विशेष अधिवेशन बोलाएपछि उनको चाहना पूरा हुन सकेको छैन। सरकारले वैकल्पिक बजेट समेत ल्याउन नसकेपछि सुदूरपश्चिम प्रदेश अहिले बजेट शून्यतामा गएको छ। अल्पमतमा परिसकेका मुख्यमन्त्री सोडारीले संवैधानिक प्रावधान बमोजिम समर्थन फिर्ता लिएपछिको एक महिनासम्म सत्ता नछाड्ने भएपछि प्रदेशमा अन्यौलता सिर्जना भएको छ।