555 |
साउन १७ धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार अर्थात् यही साउन १८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।
बुधबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन आग्रहपछि सभामुख भीमबहादुर भण्डारीले शुक्रबार दिउँसो ४ बजेका लागि प्रदेश सभाको बैठक बोलाएका छन् । राजनीतिक समीकरण फेरिएर एमालेले २० असारमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारीले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । एमाले र कांग्रेसको गठबन्धन बनेपछि सोडारी अल्पमतमा परेका छन् ।
अल्पमतकै एक महिने सरकार चलाइरहेका सोडारीले एक महिना भित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था छ । उनले एक महिना पुरै कटाएर विश्वासको मत लिन लागेका भए पनि विश्वासको मत पाउने सम्भावना देखीएको छैन। केन्द्रमा फेरिएको सत्ता समीकरण अनुसार नै प्रदेशमा नयाँ सरकार बनाउने तयारी यसअघि नै भइसकेकाले नयाँ मुख्यमन्त्री कांग्रेसबाट बन्ने करिब करिब निश्चित जस्तै छ।
केन्द्रमा असार १७ गते नेपाली कांगेस र एमाले मिलेर बनेको नयाँ सत्ता समीकरण अनुसार सरकार बन्दा सुदूरपश्चिममा कांग्रेसले मुख्यमन्त्री पाउने सहमति भएको भनिएको छ । सहमति अनुसार नयाँ सत्ता समीकरण अनुसार अहिलेसम्म लुम्बिनी र बागमती सरकार बनेको छ भने जनमत पार्टी नेतृत्वमा रहेको मधेस सरकारलाई पनि कांग्रेस र एमालेले साथ दिएका छन् ।
कर्णाली र कोसीमा एमाले नेतृत्वमा रहेका सरकारमा कांग्रेस सहभागी हुन बाँकी छ भने कांग्रेस नेतृत्वमा रहेको गण्डकी सरकारमा एमाले सहभागी हुन बाँकी छ । संघमा कांग्रेस र एमाले बिच समीकरण बनेसँगै मधेसबाहेक सबै प्रदेशमा उनीहरूले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन् ।
जसअनुसार सुदूरपश्चिममा हाल कांगेसले मुख्यमन्त्री पाउने निश्चित भए पनि कांग्रेसबाट को मुख्यमन्त्री बन्ने भन्ने बारेमा भने अझै पार्टीभित्र रस्साकस्सी चलिरहेको छ । एक महिना अघि कांगेसबाट पुर्वमुख्यमन्त्री समेत रहेका कमलबहादुर शाह नै दोहरीले सङ्केत देखिएको थियो । कांग्रेस सुदूरपश्चिम संसदीय दल नेता समेत रहेका शाह सँगै पछिल्लो समय अन्य आंकाक्षी पनि मैदानमा उत्रिएपछि अहिले कसलाई मुख्यमन्त्री बनाउने भन्ने निर्णयमा कांग्रेस पुग्न सकेको छैन ।
हाल डेढ वर्षको अवधिमा बन्ने चौथो मुख्यमन्त्रीका लागि कांग्रेस भित्र चार जना आकांक्षी देखिएका छन् । पूर्व मुख्यमन्त्री शाह सहित पूर्वभौतिक पूर्वाधार मन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाका भतिजो प्रकाश देउवा, बहादुर सिंह थापा र दिवानसिंह विष्ट मुख्यमन्त्रीका आकांक्षी छन् ।
मुख्यमन्त्री भइसकेका र, पार्टीको संसदीय दलको नेता रहेका शाह पुनः मुख्यमन्त्री हुने दौडमा हुँदा तत्कालीन समयमै काग्रेंस संसदीय दलको नेता बन्न चाहेका थापाले पनि सक्रियता बढाएका छन् । तत्कालीन समयमा केन्द्रको निर्देशन अनुसार पछाडि हटेका थापा अहिले मुख्यमन्त्रीको प्रबल दाबेदार बनेका छन् । तत्कालीन समयमा प्रकाशमान सिंह समूहमा रहेका शाहले काग्रेंस कैलालीको १४ औँ अधिवेशनमा नारायण भट्टलाई सघाएकै कारण थापालाई उछिन्दै दलको नेता बन्ने अवसर पाएका थिए ।
बैतडी पुर्ख्यौली घर भएका थापा काग्रेंसका पुराना नेता हुन । काग्रेंस कञ्चनपुरको सभापति भइसकेका थापा यस पटक जसरी पनि मुख्यमन्त्री बन्ने दाउमा छन् । देउवा गुटकै नेता एनपी साउद समूहका मानिने थापाको यस पटक मुख्यमन्त्रीको बलियो सम्भावना रहेको तर्क समेत गरिएको छ । सुदूरपश्चिमको कांग्रेसलाई लिड गर्ने एनपी साउँद र रमेश लेखकले प्रदेशमा दुई गुट चलाएका छन् ।
लेखक गृहमन्त्री बन्दा एनपीको भागमा सुदूरपश्चिमको मुख्यमन्त्री पर्ने सम्भावना हुँदा थापाको पल्ला भारी हुने अनुमान गरिएको छ । यसका साथै काग्रेंस सभापति शेर बहादुर देउवाका भतिजा प्रकाश देउवा पनि मुख्यमन्त्री बन्ने लाइनमा छन् । निवर्तमान मुख्यमन्त्री कमल बहादुर शाहले सघाए देउवा मुख्यमन्त्री बन्ने तयारीमा छन् । उनले सभापति देउवा पत्नी आरजुको स्वकीय सचिव बनेर लामो समय काम गरेका छन् ।
उनका साथै कञ्चनपुर–१ ९२० बाट प्रदेश सभामा निर्वाचित भएका दिवानसिंह विष्ट पनि मुख्यमन्त्रीका लागि केन्द्रमा लबिङ गरिरहेका छन् । शेखर कोइराला समूहका विष्ट मुख्यमन्त्रीका लागि शेखरलाई लबिङ गर्न दबाब बढाइरहेको नेताहरूबिच चर्चा छ । संविधानको धारा १६८ को २ अनुसार सरकार गठन गर्न संसदीय दल नेता नभए पनि हुने प्रावधान छ । जसका कारण संसदीय दलको नेता नभएका सांसदले पनि मुख्यमन्त्रीमा दाबी पेस गर्न सक्ने छन् ।
यसैबिच मुख्यमन्त्री दिर्घराज सोडारीले साउन १८ गते (शुक्रवार) विश्वासको मत लिने तयारी गरेका छन् । सत्तासीन दल नेकपा एमाले गत असार २० गते सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने भएका हुन् । विश्वासको मतको प्रायोजनको लागि उनले सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन् । प्रदेशसभा सचिवालयले शुक्रवार ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रदेशसभा सदस्यहरूलाई सूचना पनि सम्प्रेषण गरिसकेको छ ।
सभामुख भण्डारीले विश्वासको मतको लागि आह्वान हुने बैठकबारे प्रदेशसभा सदस्यहरूलाई सूचना पनि जारी गरिसकेको जानकारी दिए । सोडारीले एक महिना अल्पमतकै अवस्थामा सरकार लम्ब्याउँदा प्रदेशको नयाँ बजेट भने आउन सकेको छैन । जसका कारण साउन १ गते देखि प्रदेशमा आर्थिक गतिविधि ठप्प रहेका छन् । कांग्रेस र एमाले सुदूपश्चिमका नेताहरू सरकार गठनलगायतका विषयमा कुराकानी गर्न काठमाडौंमा छन्।