543 |
भदौ ८ धनगढी। कैलालीको धनगढीमा धनगढी डान्स च्याम्पियनशिप सिजन–३ मेगा राउण्ड २०८१ सुरु भएको छ। आज शनिबार द टुइन्स धनगढीको आयोजनामा धनगढी डान्स च्याम्पियनशिप सिजन–३ मेगा राउण्डको दोस्रो राउण्ड सुरु भएको हो।
कार्यक्रमका आयोजक समेत रहेका द टुइन्स धनगढीका सञ्चालक केशव बलायरले मेगा राउण्डमा ९ वटै जिल्लाबाट २०० जना छनोट भएर आएको र त्यसबाट प्रतियोगी छनोट गरिने बताउनुभयो। उहाँका अनुसार मेगा राउण्डमा एक सय ६० जना प्रतियोगिहरु सहभागि भएकोमा ८० जना प्रतियोगिहरुलाई छनोट गरिने र मेगा राउण्डपछि तीन दिन सम्म कार्यशाला सञ्चालन गरिने छ।
कार्यक्रमको प्रमुख अतिथी रहेका सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टिएन जोशीले दिप प्रज्जवल गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो। प्रमुख अतिथी तथा उपकुलपति जोशीले भाषा, कला, साहित्य र संस्कृतिको विकासका लागि आफुहरु लागिरहेको बताउनुभयो। ग्रामिण क्षेत्रमा लुकेर बसेका प्रतिभाहरुलाई बाहिर ल्याउन प्रज्ञा प्रतिष्ठानले विभिन्न कार्यक्रमहरुमा सक्रियता बढाइरहेको बताउनुभयो। सुदूरपश्चिम कला र संगितको भण्डार पनि भएकाले कलाहरुको खोजिका लागि गाउँ–गाउँमा, घरघरमा र प्रदेशका सबै जिल्लाहरुमा प्रतिभाहरुको खोजिकार्य अभियानलाई अगाडि बढाइएको उहाँको भनाई छ।