कैलालीमा अफ्रिकन स्वाइन फिभरबाट ३५ बङ्गुर मरे

288 

धनगढी,पुस २६।कैलालीमा अफ्रिकन स्वाइन फिभरबाट एक किसानका ३५ बङ्गुर मरेका छन् । घोडाघोडी नगरपालिका –९ का कृषक प्रशु चौधरीले पालेका बङ्गुर अफ्रिकन स्वाइन फिभर लागेर मरेका हुन । 

कृषक चौधरीको फर्ममा रहेका बङ्गुर पुस १४ देखि १९ गतेसम्म मरेको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले जानकारी दिएको छ। मरेको बङ्गुरको नमूना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको प्रयोशालाका प्रमुख डा. नरेशप्रसाद जोशीले बताउनुभयो। 

उहाँले थारु समुदायको माघ पर्व आइरहेको बेला बङ्गुरमा अफ्रिकन स्वाइन फिभर देखिनु चिन्ताको विषय भएको बताउनुभयो। चाडपर्वमा बङ्गुर मारेर खाने चलन रहेकाले रोग फैलिन नदिन बढी सतर्कता अपनाउन आवश्यक रहेको उहाँको भनाइ छ।

कैलालीसहित सुदूरपश्चिमका चार जिल्लामा दुई वर्षअघि अफ्रिकन स्वाइन फिभर फैलिँदा ४१५ बङ्गुर मरेका थिए । बङ्गुरबाट सो रोग शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बँदेलमा सरेको थियो। निकुञ्जमा मरेको बँदेलको नमूना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको थियो।  

सुङ्गुर र बँदेलमा मात्र लाग्ने यो रोग अझ फैलिने खतरा रहेकाले रोकथामका उपाय अपनाउन आवश्यक रहेको डा. जोशीको भनाइ छ । उहाँले यो रोगको कुनै औषधी र  खोप नबनेकाले सुरक्षाका लागि जैविक उपाय अपनाउनु पर्ने बताउनुभयो।अफ्रिकन स्वाइन फिभर फैलिन नदिन मरेका बङ्गुरलाई सावधानीपूर्वक जमिनमा गाड्न, एक ठाउँबाट अर्को ठाउँमा बङ्गुरको पाठा तत्काल नलैजान,फर्ममा स्प्रे गरेर निसङ्क्रमण बनाउन आग्रह गरिएको छ।

यसैगरी, रोगबाट मरेका बङ्गुर काटेर नखान पनि डा. जोशीको सुझाव छ। यो रोग मान्छेमा सर्दैन। तर, मरेका बङ्गुर खाँदा रोग घर घरका बङ्गुर, सुङ्गुरमा पुग्ने खतरा रहने गरेको उहाँको भनाइ छ। अफ्रिकन स्वाइन फिभर लागेमा बङ्गुरमा उच्च ज्वरो आउने लगायतको लक्षण देखा पर्ने र एक दुई दिनभित्र मर्ने गरेको जनाइएको छ। अफ्रिकन स्वाइन फिभर फैलिएमा एकै पटक धेरै बङ्गुर मर्ने गरेकाले सतर्कता अपनाउन प्रयोगशालाले बङ्गुर पालक कृषकलाई आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस