117 |
भदौ १६ धनगढी। धनगढीमा ट्रीगार्ड उखेल्नेलाई सम्झाउन खोज्दा उल्टै वडा अध्यक्ष र नगर प्रहरीमाथि आक्रमण भएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ डिलासैनी टोलमा ट्रीगार्ड उखेलेर फालिरहेको अवस्थामा भेटिएका सोही ठाउँका वर्ष २८ का रविन्द्र धानुकले वडा अध्यक्ष र नगर प्रहरीलाई आक्रमण गरेका हुन्।
वडा अध्यक्ष राजबहादुर ऐर र नगर प्रहरीले ट्रीगार्ड नभत्काउन आग्रह गर्दा धानुकले वडा अध्यक्ष ऐर र नगर प्रहरी जवान सुरेन्द्रबहादुर चन्दको औंलामा टोकेर घाइते बनाएका हुन्। गाली गलौज र आक्रमणमा उत्रिएका धानुकलाई सम्झाउन खोज्दा अर्का नगर प्रहरी जवान खेमबहादुर पातलीलाई समेत चोटपटक लागेको छ। गालीगलौज र ढुङ्गामुढामा उत्रिएका धानुकलाई नेपाल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ।
उनलाई राति ९:३० मा प्रहरीले नियन्त्रणमा लिएको हो। धानुकले विगतमा समेत रिङ रोड र ६ लेन सडकमा बिरुवामा क्षति पुगाउने, ट्रीगार्ड उखेल्ने र फाल्ने गर्दै आएका थिए। शनिवार राति ट्रीगार्ड फाल्न लागेका धानुकलाई वडा अध्यक्ष ऐरले सम्झाइ बुझाइ गर्न खोज्दा उल्टै आक्रमणमा परेका हुन्। ६ लेन सडकमा ड्युटी गरिरहेको नगर प्रहरीलाई अध्यक्ष ऐरले खबर गरेपछि नगर प्रहरी जवान खेमबहादुर पातली र सुरेन्द्रबहादुर चन्द रवि धानुकले ट्रीगार्ड भत्काएको ठाउँमा पुगेका थिए।
त्यसपछि झन उग्र भएर आफूहरू माथि धानुकले आक्रमण गरेको घाइते चन्दले बताए। धानुकले नगर प्रहरी जवान चन्दको दाहिने हातको माझी औंला र वडा अध्यक्ष ऐरको बायाँ हातको माझी औंला टोकेका हुन। वडा अध्यक्ष ऐरले सम्झाइ बुझाइ गर्न खोज्दा धानुक नगर प्रहरी, नेपाल प्रहरी र आफूसमेत माथि जाई लागेको बताए।
धानुकले इटा, ढुङ्गा जे भेट्यो त्यहीँले हिर्काउने र तथानाम गाली गलौज गरेको वडा अध्यक्ष ऐरले बताए। धानुकले वडा अध्यक्ष र नगर प्रहरीमाथि नै आक्रमण गरेपछि घटनास्थलमा पुगेको चटकपुर अस्थायी प्रहरी पोष्टको टोलीले धानुकलाई नियन्त्रणमा लिएको हो। घाइते नगर प्रहरीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ।