कैलालीको गोदावरीमा आजदेखी प्लाष्टिकजन्य वस्तु प्रयोग गरेको भेटिए कावाही हुने

333 

भदौ १८ कैलाली। कैलालीको धनगढी उपमहानगरपालीकाले जस्तै गोदावरी नगरपालिकाले पनी आजदेखी प्लाष्टिकजन्य वस्तुको प्रयोगमा पुर्ण रुपमा निषेध गर्ने भएको छ।

गोदावरी नगरपालिकाले यसअघि पटक पटक सूचना जारी गरिसकिएकाले आजदेखी पुर्ण रुपमा प्लाष्टिकजन्य वस्तुको प्रयोगमा निषेध गर्ने जनाएको हो। पुर्ण रुपमा प्लाष्टिकजन्य वस्तुको प्रयोगमा निषेध र कार्यान्वयन गर्न  हिजो सोमबार नगरपालिकाले बजार अनुगमन गरेको थियो।अनुगमनका क्रममा व्यवसायीहरुलाई पहिलो दिन प्लाष्टिकको प्रयोगमा पुर्ण रुपमा प्रतिबन्ध गर्न सुझाव दिईएको छ।

नगरपालिकाकी उपप्रमुख शारदा रोकायाका अनुसार हिजो पहिलो दिन सुझाव मात्रै दिईएको र अवका दिनमा प्लाष्टिक जन्य बस्तुको प्रयोग गरेको भटिए जफत र कारबाही गरिने बताइन । उनले सुचनालाई आधार मानेर पनि बढिजसो व्यवसायीहरुले प्लाष्टिकको झोलाको प्रयोग बन्द गरिसकेको जानकारी दिइन्। यस्तै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्टले ४० माईक्रोन भन्दा कमका प्लाष्टिकजन्य पदार्थहरु प्रतिबन्ध गर्ने भन्दै नगरपालिकाले दुई चोटी सूचना प्रकाशित गरिसकेको बताए।

उनले सूचना पछि पहिलो पटकलाई व्यवसायीहरुलाई पुनः जानकारी दिनका लागि अनुगमन गरिएको बताए। अब नगरपालिकाले नगरप्रहरीमार्फत अनुगमनलाई निरन्तरता दिने र पुनः प्लाष्टिकजन्य पदार्थ प्रयोग गरेको भेटिए कारबाही गरिने उनको भनाई छ।

नगरपालिकाले ४० माईक्रोन भन्दा कमका प्लाष्टिक झोलाहरु, प्लाष्टिकबाट बनेका डिस्पोजल बस्तुहरु, होटलहरुमा प्याकेजिङका लागि प्रयोग गरिने प्लाष्टिकका सामानहरु लगायतका वस्तुहरुको प्रयोगमा निषेध लगाएको हो। प्लाष्टिकजन्य पदार्थहरुको प्रयोगमा रोक लगाउनका लागि नगरपालिकाले प्लाष्टिकजन्य वस्तु प्रतिबन्ध सम्बन्धी विधेयक २०८० पनि बनाएको छ । नगरपालिकाले सो विद्येयक विपरित व्यवसायीहरुले प्लाष्टिकका वस्तुहरुको प्रयोग गरेको भेटिए कारबाही र जरिवाना दुवै गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस