चल्न थाल्यो टिकटक

528 

भदौ २१ काठमाडौँ । टिकटकमाथिको प्रतिबन्ध सरकारले औपचारिक रूपमा हटाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै टिकटकमाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाइएको जानकारी गराएको छ।

प्राधिकरणले साउन ६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार टिकटक खुला गर्न सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन जारी गरिसकेको उक्त सूचनामार्फत जनाएको छ। यससँगै अब सबै नेटवर्कमा टिकटक चल्न थालेको छ। १५ दिनअघि नै मन्त्रिपरिषद्को बैठकले टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको भए पनि प्राधिकरणले औपचारिक जानकारी गराएको थिएन।

शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका थिए। उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेर सबै सर्ब शर्त मान्न तयार रहेको बताएका थिए। टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र दिएपछि मन्त्रालयले प्राधिकरणलाई मन्त्रिपरिषदको निर्णय जानकारी गराउँदै टिकटकमाथिको रोक हटाउन निर्देशन दिएको थियो।

टिकटक नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवद्र्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने शर्त सरकारले राखेको थियो। टिकटकले आधारभूत र माध्यमिक विद्यालयबाट डिजिटल साक्षर अभियानमा टिकटकले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। त्यस्तै सामाजिक दुर्भावना फैलाउने खालका ‘कन्टेन्ट’ भित्र रहेका शब्द, वाक्यहरूको अंग्रेजी, नेपालीसहित नेपालभित्र बोलिने अन्य भाषामा ‘फिल्टरेसन’ र ‘मोडरेसन’ गर्न पनि तयार भएको छ। टिकटकले सामाजिक सद्भाव भड्काउने काम गरेको भन्दै गएको वर्ष कार्तिक २७ गते तत्कालीन सरकारले प्रतिबन्ध लगाएको थियो। 


प्रतिक्रिया दिनुहोस