318 |
काठमाडौँ, पुस १। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा स्थान बनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ६ विकेटले हरायो ।
जितसँगै सात खेलबाट १२ अङ्क बनाएको सुदूरपश्चिमले शीर्षस्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको हो। दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्सले १० अङ्क जोड्दै क्वालिफायरमा स्थान बनाएको छ ।
सुदूरपश्चिमसँग हारेपनि कर्णाली नेट रन रेटका आधारका काठमाडौँलाई पछि पार्दै प्लेअफमा पुगेको छ । समान आठ अङ्क बनाएको चितवन राइनोजले पनि यसअघिनै प्लेअफमा स्थान बनाएको थियो। कर्णाली र चितवनले एलिमिनेटर खेल्नेछन्।लिगको अन्तिम खेलको नतिजासँगै काठमाडौँ गुर्खाज कर्णालीसँग नेट रन रेटमा पछि पर्दै बाहिरिएको छ। एनपिएलमा सहभागि आठ टोलीमध्ये विराटनगर किङ्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स यसअघिनै बाहिरिएका थिए ।
जितका लागि एक सय दुई रनको सामान्य लक्ष्य पछयाएको सुदूरपश्चिमले १५.२ ओभरमा चार विकेटको क्षतिमा एक सय पाँच रन जोड्दै लक्ष्य पूरा गरेको हो ।सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३८ रन बनाउनुभयो। इशान पाण्डेले अविजित ३८ र ओपनर सईफ जैवले ११ रन बनाउनुभयो । बलिङमा कर्णालीका सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले एक एक विकेट लिनुभयो।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय एक रन बनाएको थियो। कर्णालीका लागि जिसन मक्सुदले ३० रन बनाउनुभयो।यस्तै विलियम बसिस्टोले १६, बाबर हायतले १३, चादविक बाल्टन र कप्तान सोमपाल कामीले ११/११ रन बनाउनुभयो। बलिङमा सुदूरपश्चिमका हरमित सिंहले तीन विकेट लिनुभयो। यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी र स्कट कुग्लेजिनले दुई दुई तथा सईफ जैवले एक विकेट लिनुभयो।