300 |
बाजुरा,पुस १३। दरबन्दी अनुसार सङ्घीय सरकारले प्रमुख प्रशासकीय अधिकृत खटाउन नसक्दा बाजुराका नौमध्ये आठ वटा पालिका निमित्तका भरमा चलिरहेका छन् ।
स्थानीय सरकार ऐन २०७४ को दफा ८४ मा प्रमुख प्रशासकीय अधिकृत नियुक्त नभएसम्मका लागि नेपाल सरकारले निजामती सेवाको कुनै अधिकृत कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गर्न खटाउन सक्ने छ भन्ने उल्लेख छ। नगरपालिकाको हकमा उपसचिव प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने र गाउँपालिकाको हकमा अधिकृतस्तरका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने प्रावधान छ।
सो ऐन अनुसार बाजुराका कुनै पनि स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नभएर निमित्तका भरमा पालिका चलेका छन् । खप्तडछेडेदह गाउँपालिका अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन छ। चार महिनाअघि निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण जोशी सरुवा भएपछि अर्का प्रमुख प्रशासकीय अधिकृत आएका छैनन् ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको आर्थिक क्रियाकलाप ठप्प रहेको पालिकाका अध्यक्ष दिलबहादुर रावतले बताउनुभयो । सङ्घीय सरकारसँग प्रमुख प्रशासकीय अधिकृतका लागि समन्वय गरे पनि नपठाउने गरेको उनले बताए । त्यसैगरी गौमूल गाउँपालिका पनि अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेको छ।
सो पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश भट्ट हुन्नुहुन्छ । उहाँ छैटौँ तहको कर्मचारी हुनुहुन्छ । गाउँपालिकामा अधिकृतस्तरको प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी हो। सङ्घीय सरकारले दरबन्दी अनुसारको कर्मचारी नपठाउने भएकाले निमित्तका भरमा पालिका चलाउनुपर्ने बाध्यता रहेको छ। हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिका पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चल्दै आएका छन्।
हिमालीमा राजबहादुर भण्डारी हुनुहन्छ भने स्वामीकार्तिक खापर गाउँपालिकामा अमरबहादुर रोकाया र जगन्नाथ गाउँपालिकामा रवीन्द्रबहादुर शाही निमित्त प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । यस्तै यता बुढीनन्दा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत उपसचिव हुनुपर्ने हो तर यहाँ पनि निमित्तका भरमा काम चलाउने गरिएको छ।
दुर्गम तथा पिछडिएका जिल्लामा दरबन्दी अनुसारका कर्मचारी आउन नमान्ने भएका कारण निमित्तका भरमा काम गर्नुपर्ने बाध्यता रहेको बुढीनन्दाका नगरप्रमुख जनककुमार बोहोराले बताए । सङ्घ सरकारले कर्मचारी नपठाउने र कर्मचारी पनि बाजुरामा आउन नमान्ने भएका कारण बाजुराका सबै पालिकामा समस्या भएको उनले भने।बडीमालिका नगरपालिकामा भने अहिले प्रमुख प्रशासकीय अधिकृत कार्यरत छन्। बुढीगङ्गा र त्रिवेणी नगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत नभई निमित्तका भरमा काम हुँदै आएको छ । पालिकामा दरबन्दी अनुसारको कर्मचारी माग गर्दा सङ्घ सरकारबाट वास्ता नभएका कारण समस्या भएको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाले बताए ।