सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु, लापरवाही गरेको आफन्तको आरोप

17.66K 

धनगढी,पुस १८। धनगढीको सेती प्रादेशिक अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका- ८ घर भएकी २५ वर्षीया टिकेश्वर शाहीको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए । 

टिकेश्वरले मंगलबार शल्यक्रिया मार्फत शिशु(छोरा)लाई जन्म दिएकी थिइन् । छोरालाई जन्म दिएकी  टिकेश्वर लाई मंगलबार दिउँसो थियो।शिशुलाई जन्म दिएपछि गम्भीर बनेकी शाहीको उपचारका क्रममा उनको बुधबार मृत्यु भएको नायब उपरीक्षक बोहराले बताए ।

उनकाअनुसार शिशु भने सकुशल छन् ।उपचारका क्रममा अस्पतालले गरेको लापरवाहीका कारण ज्यान गएको मृतकका श्रीमान् अशोक शाहीको आरोप छ। व्यथाले च्यापेपछि सेती प्रादेशिक अस्पताल ल्याइएको र चेकजाँच गर्दा नर्मल डेलिभरी गर्न नसकिने बरु चिकित्सकले अप्रेशन गर्नुपर्ने भनेपछि अप्रेशन गरेर डेलिभरी गराएको अशोकले बताए।अप्रेशनपछि साँझ टिकेश्वरीको श्वासप्रश्वासमा अचानक समस्या देखिएको र श्वासप्रश्वासमा समस्या देखिएपछि आईसीयुमा राखिएको थियो।

मंगलबार रातीसम्म उनको अवस्था सामान्य नै रहेको र  बुधबार बिहानपख टिकेश्वरीको श्वासप्रश्वासमा अत्याधिक समस्या देखिएको र थप उपचारका लागि अनुमति चाहिने भन्दै हस्ताक्षर गर्न लगाइएको अशोकले बताए। अशोकका अनुसार केही समयअघिसम्म श्रीमतीको अवस्था सामान्य रहेको तर केहीबेरमै मृत्यु हुनुमा अस्पतालको लापरवाही भएको आरोप बताए।

अझ सिफ्ट चेन्ज भएपछि आएका स्टाफ नर्सले सही तरिकाले बिरामीको हेरचाह नगरेकै कारण श्रीमती गुमाउनु परेको अशोकले बताएका छन्। यस्तै अस्पतालकी प्रसुती रोग विशेषज्ञ सृष्टी जोशीले भने टिकेश्वरीको उपचारमा अस्पतालको कुनै लापरवाही नभएको दाबी गरेकी छिन्। अचानक बिरामीको श्वासप्रश्वासमा समस्या आएपछि अस्पतालका सम्पूर्ण विशेषज्ञले हरसम्भव प्रयास गरे पनि बचाउन नसकेको जोशीले बताईन्। मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस