बझाङमा भएका छुट्टाछुट्टै जिप दुर्घटनामा एकै परिवारका तीनसहित पाँच जनाको मृत्यु

720 

बझाङ,पुस १९। बझाङमा भएका २ वटा छुट्टाछुट्टै जिप दुर्घटनामा परेर एकै परिवारका तीनसहित पाँच जनाको मृत्यु भएको छ।

बिहीबार राती बझाङको मष्टा गाउँपालिका र तल्कोट गाउँपालिकामा भएका छुट्टाछुट्टै जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बझाङको मष्टा गाउँपालिका १ कोटदेवलमा जिप दुर्घटनामा परेर चालकको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउनेमा मष्टा गाउँपालिका-१ रनाडाका ४२ वर्षीय धर्म थापा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, भातेखोलाबाट रनाडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जिप कोटदेवलमा सडकबाट करिब १०० मिटर तल खसेको थियो। जिपमा चालक थापा मात्र सवार रहेको र घटनास्थलमै उनको मृत्यु भएको वडा अध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए।दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, बझाङकै तलकोट गाउँपालिकास्थित धमेनामा जिप दुर्घटना परेर एकै घरका ३ जनासहित ४ जनाको भएको छ। बिहिबार राती साढे ९ बजे तलकोटबाट चैनपुर जाँदै गरेको से १ ज ८४३ नम्बरको जीप तलकोट गाउँपालिका-१ स्थित धमेना नजिकै दुर्घटना हुँदा एकै परिवारका आमा छोरा र नातिनीसहित चार जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी,उनकी ७२ वर्षीया आमा जौमती देवी धामी र केदारस्यु गाउँपालिका १ का ३३ वर्षीय जीप चालक सम्शेर मल्ल रहेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी युवराज भण्डारीले जनाएका छन्। उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी मृतक बम बहादुर धामीकी ६ वर्षीया छोरी आकृति कुमारी धामीको अस्पताल लैजादै गर्दा मृत्यु भएको हो। जीप करिब २०० मिटर तल खसेको डिएसपी भण्डारीले बताए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस