भूपेन्द्र बडुवाल हत्या प्रकरणका एक जना अभियुक्त काठमाडौँबाट पक्राउ

702 

धनगढी, पुष १९। कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवाल हत्या प्रकरणका एक जना अभियुक्तलाई काठमाडौंबाट पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ का २५ वर्षीय हिमाल शाही रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए। उनका अनुसार शाहीलाई कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो। शुक्रबार पक्राउ गरिएका शाहीलाई विमानमार्फत् धनगढी ल्याइएको छ। बडुवालको २३ कात्तिक २०७८ मा टीकापुर नगरपालिका–१ मा हत्या भएको थियो।

प्रहरीले गरेको अनुसन्धानका आधारमा २६ फागुन २०७८ मा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुख्य अभियुक्त नवीन रावलसहितका २१ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो। अभियुक्त मध्ये १२ जना पक्राउ परेर पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्। तर मुद्दाको अन्तिम फैसला हुन भने सकेको छैन। उक्त मुद्दामा पटक–पटक पेशी तोकिएपनि हालसम्म अन्तिम सुनवाइ हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस