615 |
काठमाण्डौ । व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान, नेपालले मंगलबार काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।
बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदरमा परेकालाई सहुलियत दिनुपर्ने, हिन्दू राज्य कायम हुनुपर्नेलगायत एजेण्डा बोकेको अभियानले वार्षिकोत्सवको छेको पारेर मंगलबार प्रदर्शन गर्न लागेको हो ।
अभियानले राजधानीका विभिन्न ७ ठाउँबाट र्याली निस्कने र त्यो भृकुटीमण्डपमा पुगेर आमसभामा परिणत हुने जनाएको छ । पहिलो रुट कीर्तिपुर, कलंकी, कालीमाटी र त्रिपुरेश्वरलाई तोकिएको छ ।
मिटरब्याजपीडितको व्यानरमा अघि बढ्ने यो रुटको र्यालीको नेतृत्व शम्भु थापाले गर्नेछन् । महाभियानका सचिवालय सदस्य विजय कँडेलले जुलुसको संयोजन गर्नेछन् भने कोशी अञ्चल अध्यक्ष विरेश कुमार थापा र मेची अञ्चल अध्यक्ष ध्रुव सिवाकोटीले थापा र कँडेललाइ सघाउनेछन् ।
ककनी, गोंगबु, नयाँबजार, रानीपोखरीलाई दोस्रो रुट तोकिएको छ । नागरिक बचतको व्यानरमा हुने यो र्यालीको नेतृत्व अध्यक्ष मण्डल सदस्य राजु पनेरूले गर्नेछन् ।
लुभु, लामाटार, सानागाउँ, ग्वार्को, लगनखेल, जावलाखेल, पुल्चोक, कुपण्डोल, माइतीघर हुँदै कार्यक्रम स्थललाई तेस्रो, स्वयम्भू, ताहाचल, डल्लु, वसन्तपुरलाई चौथो, वनस्थली, सोह्रखुट्टे, ठमेल, लैनचौर, रानीपोखरीलाई पाँचौ, चाबहिल, गौशाला, जोरपाटी, मैतीदेवी, नक्सललाई छैटौं र भक्तपुर, कोटेश्वर, तीनकुने, नयाँबानेश्वर र माइतीघरलाई सातौं रुट तोकिएको छ ।
यी रुटलाई क्रमशः ऋषिबाबु परियार, देवी संग्रौला, आनन्दप्रसाद प्याकुरेल, हरि कार्की र राजेन्द्र लाखाले नेतृत्व गर्ने महाअभियानले जनाएको छ ।उपत्यकाका सबैजसो क्षेत्रबाट जुलुस निस्किने भएकाले सवारी आवागमन प्रभावित हुनेछ ।
ट्राफिक प्रहरीले प्रदर्शनका कारण मंगलबार उपत्यकाको सवारी आवागमन प्रभावित हुनसक्ने भन्दै सुरक्षित बाटो भएर यात्रा गर्न सबैमा अनुरोध गरेको छ ।