339 |
धनगढी,पुस १२। श्रीमतीलाई मरणासन्न हुने गरि कुटपिट गरि घाईते बनाउने सुदूरपश्चिम विश्वविद्यालयका उप-प्राध्यापक पुर्पक्षका लागि कारागार चलान भएका छन्।
श्रीमतीलाई मरणासन्न हुने गरि कुटपिट गरि घाईते बनाएको आरोपमा सोमबार पक्राउ परेका महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टलाई पुर्पक्षका लागि कारागार चलान गर्न कञ्चनपुर जिल्ला अदालतले आदेश दिएको हो।बिहीबार न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलासले भट्टलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेको हो।
केही समय अगाडि श्रीमती कुटपिटको आरोपमा विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा कार्यरत उपप्राध्यापक भट्टलाई प्रहरीले पक्राउ गरेको थियो। गोबरैयास्थित घरमै श्रीमती जयन्ती भट्टमाथि कुटपिट गरेको आरोपमा माइती पक्षले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गर्दै ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो। उनी मर्निङ ग्लोरी स्कुलका सञ्चालकसमेत हुन्।
घरायसी विवादका क्रममा उनले पत्नीलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए।उपप्राध्यापक भट्टले पटक-पटक श्रीमतीलाई यातना दिँदै आएको आरोप छ। आफन्तका अनुसार २०७७ साल भदौ महिनामा गर्भवति अवस्थामा रहेको बेला पनि उनले निर्घात कुटपिट गरेर वडा प्रहरी कार्यलय कञ्चनपुरमा माफी मागेर छुटेका थिए। त्यसपछि २०७९ सालमा पनि कुटपिट गरि सेती प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो। त्यतिबेला घरायसी सहमतिमा भट्टले माफी मागेका थिए। पुनः कुटपिट गरेर पटकपटक गल्ती गर्दै आएपछि उनी विरुद्ध प्रहरीमा उजुरी नै परेको थियो।