मातृभूमि जागरण अभियान सञ्चालन गरी वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा लाग्ने भीम रावलको घोषणा

516 

काठमाडौं,पुष १७। पूर्वउपप्रधानमन्त्री भीम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माणमा घोषणा गरेका छन्। राजधानीमा पत्रकार सम्मेलन गरी रावलले नेकपा एमाले घोषित सिद्धान्त,गन्तव्य र आदर्शविहीन बनेकाले वैकल्पिक पार्टी निर्माण गर्नु परेको निष्कर्ष सार्वजनिक गरेका छन्।

‘आफ्नै घोषित सिद्धान्त, नीति र लक्ष्यका साथै नेपालको संविधानको मार्ग निर्देशनलाई समेत अवमूल्यन गरी केपी ओली गुटले नेकपा एमालेलाई दिशाहीन बनाउनुका साथै राष्ट्रिय राजनीति नै सिद्धान्तहीन,गन्तव्यहीन र आदर्शहहीन बाटोमा धकेलिएको छ’, रावलले निष्कर्ष प्रस्तुत गरेका छन्,‘एमालेको रंग खुइलिएर बामाले (बाको मात्र नाम लेउ) मा परिणत भएको छ भन्नु पर्दा अत्यन्त दुःख लागेको लाग्छ।’ एमालेका पूर्वउपाध्यक्षसमेत रहेका रावलले एमालेको विकल्पमा पार्टी निर्माणको राष्ट्रिय अभियान चलाउने पनि घोषणा गरे।

‘मातृभूमि जागरण अभियान सञ्चालन गरी देश र जताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकता गर्नुपर्छ,’ रावलले भनेका छन्।राष्ट्रिय अभियान हुँदै वैकल्पिक पार्टी निर्माण गर्दा देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम र नीतिलाई ध्यान दिइने उल्लेख गरेका छन् ।‘देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ। यसैतर्फ हाम्रा पाइला र प्रयासहरू अगाडि बढ्नेछ’, रावलले भनेका छन्। https://drive.google.com/file/d/1yn5k9BYP0zB3BsirQxRhKxBRl8QElw33/view पूर्णपाठ क्लीक गरेर हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस