पत्रकार सम्मेलनमा भीम रावलद्वारा केपी ओलीमाथि प्रश्नैप्रश्नको वर्षा

468 

काठमाडौँ,पुस १७। एमालेबाट बर्खास्त भएका भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्नैप्रश्न गरेका छन्।

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा रावलले ओलीले फरक मतलाई सम्बोधन नगरेको, पार्टीलाई विधिसम्मत सञ्चालन नगरेको, पार्टीमा विभाजनको बिउ रोपेको, पार्टीको निर्णयलाई चुनौती दिने काम गरेको भन्दै सयौँ प्रश्न गरेका हुन् । 

एक घण्टाभन्दा लामो समय पत्रकार सम्मेलनमा उनले आफ्नो लिखित धारणा राख्दै ओलीलाई प्रश्नको वर्षा गरेका हुन् । कविताबाट पत्रकार सम्मेलन सुरु गरेका उनले त्यसपछि अधिकांश समय ओलीकै आलोचना गर्दै ओलीले पार्टी र सत्ता सञ्चालनका क्रममा कैयन गल्ती गरेको आरोप लगाए।

उनले ओलीलाई विभिन्न समयमा राष्ट्र हित विपरीत गरेका निर्णय, गुठी आन्दोलन, राजनीतिलाई अस्थिर तुल्याउने गतिविधि, सरकारमा रहँदा आफूले गरेका प्रतिबद्धता पुरा नगरेको, सङ्क्रमणकालीन न्यायसम्बन्धी काम, द्रुतमार्ग, ६ लेनको राजमार्ग, विद्युतीय रेल, चक्रपथ रेल, मेट्रो, मनोरेल, प्रतिव्यक्ति आय, असमान सन्धि सम्झौताबारे के गर्नुभयो ? भनेर प्रश्न गरे ।

उनले घरघरमा खाना पकाउने ग्यास पाइप, पानी जहाज, अन्तरिक्षमा आफ्नै यान र नेकपा विवादबारे प्रश्न गरे । रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले दशौँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएकै भरमा स्पष्टीकरण र आफ्नो पार्टी सदस्यता खान मिल्छ र ? भनेर पनि प्रश्न गरे ।  त्यसक्रममा उनले दुई दिनसम्म प्रतिनिधिहरूलाई अलपत्र पारेको, अन्यलाई एकएक गरेर बोलाएर धम्क्याएको, चुन्ने र चुनिने अधिकारको अभ्यास गर्नु गलत हो र ? भन्दै प्रश्न गरे ।

रावलले महाधिवेशनका बेला आफूनिकट प्रतिनिधिहरूलाई धम्क्याएको, सदस्य पदमा मतदान नगर्नु भनेर भनेको जस्ता विषय हास्यास्पद भएको बताए । रावलले आफूलाई एमालेले सोधेको स्पष्टीकरण पनि विधिसम्बत नरहेको बताएका छन् । उनले एमालेले आफूले पार्टीमा लामो योगदान गरेपनि पार्टी सदस्य नै नरहने गरी निष्कासन गरेर आफ्नो ५१ वर्षको राजनीतिक जीवनमा समाप्त पार्न खोजेका गुनासो गरे।

उनले भ्रष्ट, दलाल र अनैतिकहरूसँग साँठगाँठ गरी ओलीले देशमा सुशासन र समाजवाद ल्याउने कुरा गर्नु पत्याउन नसकिने समेत बताए। ‘मलाई महाधिवेशनमा अध्यक्ष पदमा किन उठेको भन्नेजस्तो प्रश्न गरेको पढ्दा प्रतिप्रश्न गर्न मन लाग्यो ?’, रावलले भने, ‘तपाई केपी ओली आठौँ महाधिवेशनमा झलनाथ खनाल र नवौ महाधिवेशनमा माधवकुमार नेपालसँग अध्यक्षमा प्रतिस्पर्धा गरेको ?’ कुनै ठाउँमा जन्मेको, शिक्षा भएको र कुनै थर भएकोले मात्र अध्यक्षमा उठ्नुपर्ने हो भन्दै रावलले ओलीलाई प्रश्न गरे।  उनले पार्टीलाई विग्रह र विभाजनतर्फ धकेल्ने काम ओलीले गरेको आरोप लगाउँदै उनी नसच्चिए ०८४ सम्म पार्टी कुन हालतमा पुग्छ भन्ने अहिले नै अनुमान गर्न सकिने बताए।

प्रतिक्रिया दिनुहोस