चिसापानी राजकाँडा केबलकारको शिलान्यास,आर्थिक,सामाजिक र सांस्कृतिक विकासमा टेवा पुग्ने बिश्वास

435 

कैलाली पुस १४। कैलालीको चिसापानीदेखि राजकाँडासम्म सञ्चालन गर्नेगरी गरिएको जालपादेवी केबुलबारको शिलान्यास गरिएको छ। परराष्ट्रमन्त्री डा.आरजु राणाले शनिबार लम्कीचुहा नगरपालिका–३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबुलकारको शिलान्यास गरेकी हुन्।

सातै प्रदेशमा केबुलकार संरचना पुर्‍याउने घोषणा गरेको आइएमई समूहले कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबुलकार निर्माण सुरु गरेको छ। शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा.राणाले जालपादेवी केबुलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताइन्।

केबुलकार सञ्चालनका लागि सरकारले सक्दो सहयोगको वातावरण बनाउने बताउँदै सुदूरपश्चिमकै प्रवेशद्वारमा ठुलो लगानीका साथ केबुलकार सञ्चालन हुन खोजेकाले सबै क्षेत्रले सहयोग गर्नुपर्ने धारणा राखिन्।उनले यो आयोजना समयमै सम्पन्न गर्न तथा आगामी दिनमा यो क्षेत्रका सम्भावना र आवश्यकता हेरेर यो क्षेत्रमा पर्यटनलगायतका पूर्वाधारमा लगानी बढाउन पनि आग्रह गरिन्। 

कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मन्त्रालय विकासमा बाधक नभई सहयोगी बन्ने बताउँदै यस्ता विकासका पूर्वाधारमा स्वदेशी काठको प्रयोग गर्न आग्रह गरे। जालपादेवी केबुलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक मुलुकको कायापलट गर्न सम्भव रहेको बताए।

उनले केबुलकार पर्यटन सर्किट बनाउने समूहको लक्ष्यलाई जालपादेवी केबुलकार निर्माणको शिलान्यासले नयाँ उत्साह थपेको बताए । कैलालीका व्यवसायी सूर्यबहादुर थापा समूहले जालपादेवी केवुलकार सञ्चालन गर्न थालेको हो। सञ्चालक थापाका अनुसार कुल पाँच अर्ब रुपियाँ लगानी हुने केबुलकार ३.१ किलोमिटर लामो हुने छ। सो केबलुकारमा १५ वटा टावर र ३४ वटा गोन्डोला हुने छन्।

थापाका अनुसार केबलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरब, कालिकादेवी, कैलाशधाम लगायतका धार्मिकस्थल, हात्तीढुङ्गा लगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिनेछ। निर्माण समूहले केबलकारबाट हुने कुल आम्दानीको दुई प्रतिशत स्थानीय सरकारलाई उपलब्ध गराउने प्रतिवद्धता गरेको छ। काठमाडौँको चन्द्रागिरिमा पहिलो केबुलकार स्थापना गरेको सो समूहले नवलपुरको मौलाकालिका र बुटवलमा पनि केबुलकार निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ।  


प्रतिक्रिया दिनुहोस