सुदूरपश्चिम प्रदेशमा पुसे पन्ध्र पर्व मनाइँदै

288 

धनगढी, पुस १५। आज पुस १५। सुदूरपश्चिम प्रदेशमा पुसे पन्ध्र पर्व मनाइँदै छ। आजको रात सबैभन्दा लामो हुने विश्वासमा ठूली रात मान्दै मिठा परिकार परिकार खाएर पर्व मनाउने चलन छ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीका अनुसार पुसे पन्ध्र सुदूरपश्चिम प्रदेशको मौलिक पर्व हो । ‘आजको रातलाई सबैभन्दा ठूलो मान्ने चलन यहाँ छ,’ उनले भने, ‘रातभर आगो बालेर जाग्राम बस्ने चलन छ। मिठा परिकार पनि खाने चलन छ । तरुल, पिँडालु, सखरखण्डलगायत कन्दमूलका साथै लाउन, बाबर, माणा, निसौसे, रोटलगायतका डोटेली खानाका परिकार खाने चलन छ ।’

डा. जोशीका अनुसार डोटेली लोकसंस्कृतिमा लोक कथा, दन्त्य कथा र बातै सुन्ने तथा सुनाउने पर्वको रूपमा पनि पुसे पन्ध्रलाई लिने गरिन्छ । ‘यो पर्वमा कतै १५ हात लामो काठ जलाएर आगो ताप्ने परम्परा छ भने कतै १५ प्रकारका परिकार खाने पनि चलन छ,’ उनले भने । यो पर्वमा रातभर नसुत्ने परम्परा रहेको हुँदा रात काट्नैका लागि कुनै गाउँमा डेउडा खेल्ने चलन पनि रहेको छ । आजको दिन सुदूरपश्चिममा घाँस काट्ने हँसिया, दाउरा चिर्ने बञ्चरो नचलाउने चलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस