393 |
बाजुरा, पुस १५। बाजुरामा पटक पटक आउने गरेको भुकम्पबाट यहाँका स्थानीय त्रसित बन्ने गरेका छन् । यहाँका नौवटै स्थानीय तहमा रहेका पुराना तथा जीर्ण बन्दै गएका घरमा भुकम्पले ठुलो क्षति गरेकाले स्थानीयहरू डरले राति घरबाहिर सुत्ने गरेका छन् ।
पुस ६ गते जगनाथ गाउँपालिकाको गोत्रीमा ५.२ रेक्टल स्केलको भूकम्प गएको थियो। भूकम्पले घरमात्र चर्काए सिन फेरि आउन सक्ने त्रासले घर बाहिरै सुत्नेगरेको वडा –५ का अतिराम दमाईले बताउनुभयो ।
उहाँले भन्नुभयो, “घर नछोडौं भुकम्पको डर छ। घर छोडौ अन्य कतै बस्ने व्यवस्था छैन। ज्यान जोखिम राखेर भए पनि अहिले घरबाहिरै बास गर्नेगरेका छौं । घर भत्किएर ज्यान नै जाने होकी मनमा डर पसेको छ।” हामीलाई खान त के बास बस्न समेत यस्तो दोधारमा हुँदा पनि सम्बन्धित निकायको ध्यान नगएको दमाईले गुनासो गर्नुभयो । गत पुस ६ गते गएको भुकम्पले जगनाथ गाउँपालिकामा झण्डै १२३ घर जोखिममा परेको जगनाथ गाउँपालिकाले जनाएको छ।
पालिकाको समन्वयमा अहिले त्रिपाल मात्र वितरण गरेको जगनाथ गाउँपालिका –५ का वडा अध्यक्ष गौरी सार्कीले बताउनुभयो । २०७९ वैशाख १५ गते गएको भुकम्पले हिमाली बुढीनन्दा गौमुल, हिमाली, बुढीगङ्गा, बडिमालिका त्रिवेणी र खप्तड छेडेदह लगायतका ठाउँमा १०४ पूर्ण ५०९ आंशिक र ४६३ वटा घरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
भुकम्पले प्रभावित भएका स्थानीयको अस्थायी टहरा निर्माण गर्न गृह मन्त्रालयसँग रकम माग गरेको जिल्ला विपद् व्यवस्थापन समिति बाजुराका संयोजक तथा जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो । अहिले भुकम्प पीडितहरूलाई तत्काल सुरक्षित ठाउँमा बसोवास गर्न त्रिपाल मात्र सहयोग गरेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी पाध्याले बताउनुभयो। गोरखापत्रबाट