579 |
काठमाडौं, पुस १५।नेकपा एमालेबाट निष्कासित भीम रावलले वाम, प्रजातान्त्रिक समेटेर गैरकम्युनिस्ट पार्टी बनाउने भएका छन्।
रावलले बुधबार नेपाली कांग्रेसबाट निकालिएका कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीसँगको छलफलमा आफूले परम्परागत ढाँचाका कम्युनिस्ट पार्टी गठन नगर्ने बताएका हुन्। ‘उहाँले आफूले बनाउने पार्टी कम्युनिस्ट पार्टी नरहने बताउनुभयो,’ जोशीले भने।उनले आगामी पुस १७ गते कार्की पार्टी बैंक्वेटमा पत्रकार सम्मेलन गरेर पछिल्लो राजनीतिक अवस्थाबारे आफ्ना नीति, विचार र दृष्टिकोण सार्वजनिक गर्दैछन्।
त्यसलगत्तै देश दौडाहामा निस्कने तयारी गरेका रावलले आफ्ना विचारसँग सहमत राख्ने देभभरिका नेता–कार्यकर्तासँग अन्तरक्रिया पनि गर्ने तयारी गरेका छन्।त्यसपछि मात्रै उनले पार्टी घोषणा गर्ने उनीनिकटले बताएका छन्।उनीनिकट एकिन्द्र कुँवरले पनि वाम, प्रजातान्त्रिक, प्रगतिशील र देशभक्तहरूको नयाँ पार्टी बन्ने जानकारी दिए। रावललाई गत पुस १० गते एमालेले संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेका थियो।
एमालेबाट निष्कासित भएपछि नयाँ पार्टी निर्माणको छलफलमा जुटेका डा. भीम रावलले राजनीतिक भेटवार्तालाई तीब्रता दिएका छन् । सोमबार बिहान उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका छन् । मल्ल कांग्रेस डडेल्धुराका पूर्वसभापति हुन् । उनीहरूबीच टोखास्थित निवासमा भेटवार्ता भएको हो ।
भेटवार्तामा रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एकठाउँमा आएर बलियो शक्ति निर्माण गर्नुपर्ने प्रस्ताव राखेको स्रोतले बतायो । कांग्रेस सभापति शेरबहादुर देउवासँगको सम्बन्ध बिग्रिएपछि उनी कांग्रेस बीपीतिर लागेका हुन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनले देउवाविरुद्ध प्रतिस्पर्धा गरेका थिए । जोशी भने नेकपा एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य हुन् । २०७९ को निर्वाचनमा डडेल्धुरा प्रतिनिधिसभाअन्तर्गतको प्रदेश सभा २ बाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित भएका हुन् ।