लाइन काट्न थालेपछि कैलालीको टीकापुरमा महसुल तिर्ने बढे

2.24K 

कैलाली,पुस १७।नेपाल विद्युत् प्राधिकरण टीकापुर वितरण केन्द्रले बिल जारी भएको ६० दिनसम्म पनि महसुल नबुझाउने ग्राहकको लाइन काटन थालेपछि महसुल तिर्ने बढेका छन् । 

टीकापुर वितरण केन्द्रका प्रमुख कपिल जोशीका अनुसार पछिल्लो चार दिनमा १३२ जनाको लाइन काटिएको छ भने ८१ जनाको लाइन जोडिएको छ । पटक पटक जानकारी गराउँदा पनि महसुल नतिर्ने, अटेर गर्ने ग्राहकको लाइन काटिएको हो ।

काटिएका लाइन जोड्दा ६७ हजार ८०१ रुपियाँ र महसुलबापत सात लाख १० हजार रुपियाँ असुल भएको छ । टीकापुर वितरण केन्द्रले एक हजार ९५२ उपभोक्ताबाट छ करोड रुपियाँभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको छ । टीकापुर वितरण केन्द्रमातहतमा टीकापुर, दुर्गौली, लम्की, चिसापानीलगायतका क्षेत्र पर्दछन् । 

“पुस ११ देखि विद्युत् महसुल नतिर्नेको लाइन निरन्तर काट्न थालिएको छ,” टीकापुर वितरण केन्द्रका प्रमुख जोशीले भन्नुभयो, “जिम्मेवार भएर शुल्क बुझाउनुस्, यसबाट प्राधिकरण र ग्राहक दुवैको हित हुन्छ, लाइन काटिसकेपछि पुनः जोड्दा उपभोक्तालाई ८४७ रुपियाँ ५० पैसा पर्छ, प्राधिकरणलाई काम थपिन्छ ।” 

प्रतिक्रिया दिनुहोस