रविको मुद्दामा आदेश लेखन जारी, बाहिर कडा सुरक्षा

231 

कास्की पुस २५। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा थुनछेक बहसका अरू प्रक्रिया सकिएपछि आदेश लेखन हुँदै गरेको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो ।

प्रतिवादीहरूको बयान र जवाफी बहस सकिएपछि आदेशको तयारी भएको हो । जवाफी बहस सकिएपछि सबै प्रतिवादीलाई न्यायाधीश नीतिज राईले आफ्ना कुरा राख्नसमेत समय दिनुभएको थियो।आदेशको तयारी हुँदै गर्दा अदालत परिसर र अदालत रहेको क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रशासनले कात्तिक ३ गते अदालत आसपास र जिल्ला प्रहरी कार्यालय कास्की वरपर निषेधित क्षेत्र घोषणा गरेको थियो । 

अदालतमा आदेश लेखन जारी रहँदा बाहिर सहकारी पीडित र रास्वपा नेता, कार्यकर्ता जम्मा भएका छन् । रास्वपा उपसभापति डिपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झालगायतका नेता, कार्यकर्ता पोखरा आउनु भएको छ। 

राईको इजलासमा गोरखा मिडियाका पूर्व प्रबन्ध निर्देशकसमेत रहनुभएका लामिछानेले आफूलाई थुना बहिरै रहेर मुद्दा लड्ने अवसर दिन आग्रह गर्नुभएको थियो । “मलाई थुना बाहिरै रहेर मुद्दा लड्ने अवसर दिइयोस्,” लामिछानेले भन्नुभयो, “सहकारीका बचतकर्ताको रकम पैसा फिर्ता गर्न पहल गर्छु । पीडितको पक्षमा निरन्तर काम गर्छु ।’’आफ्ना कुरा राख्ने क्रममा अन्य प्रतिवादीहरूले पनि सूर्यदर्शन ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको जिकिर गर्नुभएको थियो । पुस ७ गते जिल्ला अदालत कास्कीमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । 

लामिछानेसहितले सूर्यदर्शनको बचत गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोग छ । लामिछाने गोरखा मिडियाको पूर्व प्रबन्ध निर्देशक र सेयर सदस्य हुनुहुन्छ। अहिले कास्की प्रहरीको हिरासतमा गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, जिबी एन्ड कम्पनीकी कर्मचारी लीला पछाईं, सूर्यदर्शन सहकारीका पूर्व सञ्चालक कृष्णबहादुर गुरुङ,हर्बाे इन्टरनेसनलका सञ्चालक रामबहादुर खनाल, सूर्यदर्शनकी पूर्वउपाध्यक्ष मीना गुरुङ, पूर्व कोषाध्यक्ष आरती गुरुङ छन्। 

लामिछानेसहितका प्रतिवादीमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएको थियो । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा पूरक र थप गरी अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ । प्रतिवादीहरूसँग एक अर्ब ५१ करोड बिगो माग भएको छ। 

प्रतिक्रिया दिनुहोस